रीता ताम्राकार र उनको ‘धनेश्वरकी साहिँली’ कथाको विश्लेषण

199

१९ कार्तिक हेटौंडा : कथाकार ररीता ताम्राकारको जन्म वि. सं. २०२२ साल जेठ ९ गते पूर्वी नेपालको संखुवासभामा भएको हो । हाल उनी एसओएस बालग्राम इटहरीमा कार्यरत छिन् । २०५३ सालमा ‘भत्किएको चाहना’ शीर्षकको कथा लेखेर उनी कथा लेखन क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनको ‘तुषारापात’ (२०६१) , ‘दृश्य परिदृश्य’ (२०७३) र ‘संवेग’ (२०७४) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । उनी षडानन्द प्रतिभा पुरस्कार (२०७४) , गुन्जन प्रतिभा पुरस्कार ( २०७४) आदिबाट सम्मानित भएकी छिन् ।

रीता ताम्राकार र उनको ‘धनेश्वरकी साहिँली’ कथाको विश्लेषण 


१. कथाकार रीता ताम्राकार र उनका कथागत प्रवृत्तिहरू

१.१ रीता ताम्राकारको परिचय

कथाकार ररीता ताम्राकारको जन्म वि. सं. २०२२ साल जेठ ९ गते पूर्वी नेपालको संखुवासभामा भएको हो । हाल उनी एसओएस बालग्राम इटहरीमा कार्यरत छिन् । २०५३ सालमा ‘भत्किएको चाहना’ शीर्षकको कथा लेखेर उनी कथा लेखन क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनको ‘तुषारापात’ (२०६१) , ‘दृश्य परिदृश्य’ (२०७३) र ‘संवेग’ (२०७४) कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । उनी षडानन्द प्रतिभा पुरस्कार (२०७४) , गुन्जन प्रतिभा पुरस्कार ( २०७४) आदिबाट सम्मानित भएकी छिन् ।

१.२ रीता ताम्राकारका कथागत प्रवृत्तिहरू

(क) सामाजिक यथार्थवादी प्रवृत्ति : रीता ताम्राकार सामाजिक यथार्थवादी कथाकार हुन् । सामाजिक यथार्थवादी कथाकार भएकालेे उनका कथामा मानिसले भोग्नुपरेको पारिवारिक , सामाजिक , आर्थिक , मानसिक समस्या लगायतका जल्दाबल्दा समाज विषयक घटनाहरूलाई जीवन्त रुपमा उद्घाटन गरी कथामा उल्लेख गर्नु उनको यथार्थवादी शैली हो । 

१.२ नारीवादी प्रवृत्ति : नारीका पक्षमा सशक्त वकालत गर्ने रीता ताम्राकार नारीवादी कथाकार हुन् । उनका प्रायःजसो कथामा नारीलाई केन्द्रीय पात्रका रुपमा उभ्याइ नारी मानसिकताको चिरफार गरिएको पाइन्छ । 

१.३ परिवेशगत प्रवृत्ति : मानव जीवनका विविधतालाई प्रभावशाली ढंगले प्रस्तुत गर्दै र ग्रामीण जीवनका कष्टकर समस्या र शहरी जीवनका संवेदनाहीन पक्ष तथा परिवेशलाई चित्रण गरिएका उनका कथा परिवेशका दृष्टिकोणले सशक्त छन् ।

१.४ पात्रगत प्रवृत्ति : ताम्राकारका कथामा पहिलो पुस्ता र दोस्रो पुस्ता तथा ग्रामीण र शहरी पात्रहरूको चयन गरी पात्रगत विविधता कायम गरिएको छ । पात्रका नामहरूमा नवीनता पाइन्छ । पुस्तान्तर तथा ग्रामीण र शहरी परिवेशका पात्रहरूबीच आवश्यक द्वन्द्व र फरक मानसिकताको चित्रणमा उनी सफल देखिन्छिन्  ।

१.५ दृष्टिविन्दुगत प्रवृत्ति : रीता ताम्राकारका अधिकांश कथाहरू प्रथम पुरुषीय दृष्टिविन्दुमा सिर्जना गरिएका छन् । ‘म’ पात्रको केन्द्रीययताबाट सिर्जित कथामा कथाभित्र स्वयम् कथाकारको उपस्थिति र पात्रगत सूक्ष्म ग्रन्थिको विश्लेषण गर्ने दृष्टिविन्दुगत शैली उत्कृष्ट पाइन्छ ।

१.६ सारवस्तुगत प्रवृत्ति : सन्दर्भ र घटना अनुकूल सारवस्तु प्रस्तुत गर्नु र पात्रअनुसार विचार अभिव्यक्त गर्नु रीता ताम्राकारको सारवस्तुगत प्रवृत्ति हो ।

१.७ भाषाशैलीगत प्रवृत्ति : रीता ताम्राकारको भाषा सरल, सहज र स्वभाविक रहेको छ । नेपाली जनजिब्रोमा झुण्डिएका शब्दहरूको अधिक प्रयोग गर्नु उनको भाषागत विशेषता बन्न पुगेको छ ।

२.’धनेश्वरकी साँहिली’ कथाको विश्लेषण 

२.१ कथानक : ‘धनेश्वरकी साँहिली रीता ताम्राकारको ‘संवेग’ (२०७४) कथासङ्ग्रहमा संकलित चौथो कथा हो । यस कथामा एउटा श्रमजीवीले श्रम , सीप  खर्चेर ठड्याएको घरमा पैसा तिरेर समेत डेरा नपाएको मार्मिक अवस्थाको चित्रण गरिएको छ । श्रम मान्छेको उच्चतम कार्य र गहना हो । उमेर छँदा श्रम नगर्ने मान्छे यो धरतीमा बाँच्नु बेकार छ । श्रम गरेपछि उसका आफ्ना आधारभूत आवश्यकता भने पूरा हुनुपर्छ । तर अहिलेको समाज बनोटको आधार हेर्दा पसिना बगाएर श्रम गर्नेहरू कतै पौष्टिक आहार , सन्तुलित भोजन नपाएर , कतै बस्ने वासको अभावले त कतै आफ्ना सन्तानको शिक्षादीक्षा र दुःख बिमार पर्दा आवश्यक उपचारको अभावमा जीवन व्यतित गर्न विवश छन् । यस कथाले श्रम गर्दागर्दै जीवन धान्न कठिन भएपछि जोडेको ऐलानी जग्गा र त्यसैमा बनाएको दुई कोठे घरसमेत बेच्न बाध्य धनेश्वरको व्यथा र पहिले आफूले नै मेहनत र लगावका साथ समय र पसिना खर्चेर निर्माण गरेको घरमा घरभेटीले भाडा तिरेर पनि डेरा नदिएको मार्मिक अवस्थाको सशक्त चित्रण गरेको छ ।

‘धनेश्वरकी साँहिली’ कथाले हाम्रो देशको शासनव्यवस्था र सामाजिक , आर्थिक बनोट / संरचना कामदारमैत्री छैन भन्नेतर्फ स्पष्टताका साथ संकेत गरेको छ । काम गर्नेहरूको हालत क्रमशः खस्कदैं , बिग्रदैं गइरहेको र अरुलाई काममा दलाएर आफ्नो स्वार्थ कामदारबाट र राज्यव्यवस्थाबाट समेत पूरा गर्न सक्षम हुने खाने वर्गहरूप्रति रोश प्रकट गर्न खोजेको देखिन्छ ।

२.२ पात्रविधान : ‘धनेश्वरकी साँहिली’ कथाको प्रमुख पात्र धनेश्वरकी जीवनसंगिनी ‘साँहिली’ हो भने सहायक पात्रहरू धनेश्वर , मिस्त्री र कामदार महिला हुन् । साँहिली एक आम महिला हो , जस्तै श्रीमानको सेवा र माया गर्ने , हाँसोखुशी , दुःख , रोदन जस्ता गुण र लक्षण उसमा पनि प्रष्ट देखिन्छ । दुःख गरेर जोडेको ऐलानी जग्गामा आफ्नै सानो घरमा बस्न पाउँदा ऊ संसार जितेजस्तै खुशी हुन्छे । साहुको घर ठेक्कामा लिएर बनाउँदा लागेको ऋण र गुजारा चलाउँदै गर्दा आर्थिक रुपमा जर्जर भएको परिवार चलाउँदा उसको मनमा हुण्डरी चलेको छ । घर छोड्नुपर्दा पीडामा  डुब्छे साँहिली । आफ्नो भाग मीठो मसिनो समेत लोग्नेले नै खाइदेओस् भन्ने चाहना राख्ने साँहिली धनेश्वरलाई हृदयदेखि नै माया गर्छे ।  र अन्तमा जे भएपनि धनेश्वरलाई ‘पहिला पनि नभएको घर गुम्दा कति पीर गर्छौ ? आफैले बनाएको घरमा पैसा तिरेर डेरासम्म पाएनौ के पीर गर्छौ भनेर हाँसेर लोग्नेको मनमा बितिरहेको व्यथालाई हलुका बनाउने प्रयास गर्छे । साँहिलीले कथालाई मार्मिक र जीवन्त बनाएकी छे ।

धनेश्वर पनि कथाको मुख्य पात्रकै रुपमा शुरुदेखि अन्त्यसम्म छाएको छ । साँहिलीको सुखदुःखमा सधैं सँगसँगै छ ऊ । काम गर्छ , भौतारिन्छ , मनमा कुरा खेलाउँछ र आफ्नो मेहनत र पसिनाले जोडेको घरजग्गा जोगाउन नसकेकोका आफैंलाई धिक्कार्छ । मिस्री र कामदार महिलाले कथामा रोचकता थपेका छन् । आवश्यकता अनुसार उनीहरूले आफ्नो कर्तव्य पूर्ण पालना गरेका छन् । घरबेटीको प्रसंग पटकपटक आएपनि प्रतक्ष्यरुपमा उसको उपस्थिति देखिदैन ।

२.३ परिवेश : ‘धनेश्वरकी साँहिली’ कथाको परिवेश हाल फस्टाउँदै गइरहेको नव धनाढ्यवर्गको उदय र उनीहरूले निर्माण गर्ने बिल्डिङहरूमा श्रममा खटिएका कामदारहरूको खस्कदोँ जीवनस्तर हो । हुने खाने र हुँदा खाने , सामन्त र किसान , मालिक र कामदारबीचको खाडल नयाँ समस्या होइन । समयसमयमा यी दुई वर्गकाबीच सानाठूला संघर्षहरू पनि नभएका होइनन् । तर श्रमिकहरूले संघर्ष गरेर प्राप्त गरेका अधिकारहरू कतिपय कागजमै सीमित छन् भने ठाउँ पाएका श्रमिकहरू कालान्तरमा आफैं मालिक बनेका र आफ्नो पुरानो अवस्था बिर्सेर कामदारलाई पेल्ने , होच्याउने र दबाउनेजस्ता काममा संलग्न बनेको स्थिति छ । भवन निर्माणस्थलमा धनेश्वर र कामदारबीचको रसिलो वार्तालाप अनि साँहिलीको घरमा बुढाबुढीबीच भएको सुखदुःखका गन्थन यस कथाको परिवेशले प्रकट गरेको छ ।

२.४ दृष्टिविन्दु : यस कथाको दृष्टिविन्दु उनका अन्य कथाभन्दा फरक अर्थात बाह्य / तृतीय पुरुषीय सीमित रहेको छ । कथानकमा स्वयं  आफैं पसेर सूक्ष्मातिसूक्ष्म कणहरू केलाउँदै शब्दहरू खेलाउन खप्पिस रीता ताम्राकार यो कथामा भने धनेश्वर (ऊ) , साँहिली (उनी ) र उनीहरूको प्रयोगमार्फत पात्रहरूको व्यवहार र मनोदशा प्रस्तुत गर्न सक्षम देखिन्छ ।

२.५ सारवस्तु : सुन्दर संसार निर्माण गर्ने भनेको मजदुरहरूले हो । उनीहरूको श्रम , सीप र पसिनाले नै हामी हाम्रो समाजलाई समुन्नत र सम्वृद्ध बनाउन सक्छौं । समाजका त्यस्ता महत्वपूर्ण व्यक्तिहरूलाई हामीले र हाम्रो समाजले भने साँच्चिकै उचित स्थान दिएको छ त ? गम्भीर भएर सोच्न , मनन गर्न र तदनुरुप व्यवहार गर्न यो कथाले घच्घच्याएको छ । सत्ताको बागडोर सम्हालेका नेताहरू , नीतिनिर्माताहरू र हामी स्वयंले (प्रत्येक मानवले) यसलाई हाम्रो आफ्नै सवाल र समस्या हो भन्ने ठान्नुपर्छ भन्ने मूलभूत सारवस्तुलाई यस कथाले ध्वनित गरेको छ ।

२.६ भाषाशैली : ‘धनेश्वरकी साँहिली’ कथामा ताम्राकारले ग्रामीण अनि निम्नवर्गीय परिवार र जनवीवनमा प्रयोग गरिने बोलीचालीमा प्रयोग हुने भाषाको प्रयोग गरिएको छ ।जस्तै , धनेश्वर भन्छ , “मलाई बिहानको चिसो दे । तँ तातो खा।” साँहिली भन्छे , “त्यस्तो पापिनी देख्यौ मलाई ?”

कथामा संवादात्मक शैलीको बढी प्रयोग गरिएको भए पनि  ठाउँ ठाउँमा दृश्यात्मक शैली र पूर्वदीप्ती (फ्ल्यास ब्याक) को समेत प्रयोग गरिएको छ ।



-कुमार काफ्ले

प्रस्तुति : महेन्द्र ओझा 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here