संविधान दिवसमा प्रदेश प्रमुख कोइरालाको शुभकामनाः आर्थिक विकासलाई मुख्य आधार बनाई अघि बढ्न आग्रह

127

हेटौंडा,३ असोजः संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शुभकामना दिएकी छन् ।

दिवसको अवसरमा आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले ३ नम्बर प्रदेशबासी तथा सबैमा संविधान दिवसको शुभकामना दिएकी हुन् । 

कार्यक्रममा बोल्दै उनले नेपाली जनताको आन्दोलन, त्याग र बलिदानको प्रतिफल स्वरुप संविधान आएको बताइन् । नेपाली जनताले संविधान प्राप्त गरेको तीन वर्ष पूरा भई चौथो सविधान दिवस मनाईरहँदा राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, त्याग र बलिदानको स्मरण गरिन् । 

जनताको बलिदानीपूर्ण आन्दोलनको प्रतिफल स्वरुप ऐतिहासिक संविधान सभा मार्फत हामीले वर्तमान नेपालको संविधान प्राप्त गरेको भन्दै उनले जनआकांक्षा र जनभावना अनुरुप सामाजिक तथा आर्थिक विकासलाई मुख्य आधार बनाई अधि बढ्न सबै क्षेत्रलाई अनुरोध पनि गरेकी हुन् । लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा यस प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै प्रदेश प्रमुख कोइरालाले सम्पूर्ण प्रदेशबासीहरुलाई संविधान दिवसको शुभकामना व्यक्त दिएकी थिइन् । 

कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेश मन्त्रीहरु, प्रदेश सांसदहरु, प्रदेश प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरु लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here