सम्झनामा पिता

174

०३ मंसिर, सोमबार, हेटौंडा : गुरुबा नमस्कार है ! यसरी नै उहाँलाई भेट्न बिहान बेलुकै निकै मान्छेहरू आइरहन्थे । केटाकेटीको लागि उहाँ देउताजस्तै हो भन्थे । खासमा उहाँलाई केटाकेटी उमेरमै देउता आएका थिए रे, धेरै पहिला ! हामीलाई त्यो थाहै छैन । जोखाना हेर्ने, झारफुक गर्ने र दबाई दिने उहाँको दैनिकीको अभिन्न अङ्ग थियोे ।

तन्त्रमन्त्रमा शक्ति हुन्छ , हुन्न ? बहस गर्न सकिन्छ तर उहाँले तन्त्रमन्त्रको साथ अमूल्य जडिबुटीबाट उपचार गर्नुहुन्थ्यो र त्यो एकदमै प्रभावकारी , लाभदायक थियोे भन्नेहरू मैले गाउँघरमा यत्रतत्र भेटेको छु ।

जिन्दगीले कताबाट कता पुर्यायो ! नसोचेका घटनाहरू घट्दै गए उहाँको जीवनमा । सयौं , हजारौंका छोराछोरीलाई उपचार गरेर जीवनदान दिनुभएको उहाँले आफ्नै छोरालाई भने बचाउन सक्नुभएन । भू हलचलले उहाँको जीवनमा यस्तो बज्र प्रहार गर्यो कि ब्यूँझेर सामान्य जीवनमा फर्कन लामो समय लाग्यो । त्यसपछि उहाँले आफ्नो जन्मगाउँ  छोडिदिनुभयो र पस्नु भो चार भञ्ज्याङ्भित्रको खाल्डोमा । यो २०७२ सालको कुरो हो ।

छरछिमेक र गाउँलेका समेत जान्ने भनेर कहलिएका मेरा बा मेरो नजरमा त सर्वश्वजस्तै हुनुहुन्थ्यो । उहाँलाई लिन वल्लो गाउँ पल्लो गाउँबाट मान्छेहरू लिन आउँथे त कोही भेटघाट र बिरामी लिएर आइपुग्थे । सानामा बनेको उहाँको निडर व्यक्तित्व र भव्य छवि सदैव कायम रह्यो । अन्याय अत्याचारको विरुद्धमा कुनै ढिलासुस्ती नगरि बिना हिच्किचावट उहाँ संघर्षमा ओर्लिहाल्नुहुन्यो । पटकपटक भनेको सुन्थ्यौं , “मर्नदेखि डर छैन “

उहाँको हंसमुखाकृति सधैं झल्झली सम्झना आइरहन्छ । केटाकेटीलाई रमाइला किस्सा , कहानी र चटपटे चुट्किला सुनाइरहनुहुन्थ्यो । किंवदन्ती र दन्त्यकथाको त उहाँ अथाह भण्डार नै हुनुहुन्थ्यो । अहिले थकथकी लाग्छ , तीमध्ये केही ध्यान दिएर टिपोट गर्न पाएको भए सधैंको लागि काम लाग्ने रहेछ ! 

उहाँलाई जडिबुटी सम्बन्धी प्रचुर ज्ञान थियोे । जण्डिस ; सर्पदंश , पेट , टाउको , घाँटी , छाला , छातीसम्बन्धी रोग र समस्याको उपचारमा राम्रो दक्खल थियोे । घरवरिपरि , कान्ला करेसा र वनपाखामा पाइने झारपात , जरा , डाँठ , फूलफल , लेउझ्याउसँग उहाँ राम्रोसँग परिचित हुनुहुन्थ्यो र तिनैबाट अनेक रोगका ओखती बनाउने र उपचार गर्ने गर्नुहुन्थ्यो । अहिले पनि जडिबुटीको एउटा झोला छ हाम्रो घरमा । केही थाहा छ धेरै थाहा छैन । भूत , प्रेत र आत्माको बारेमा उहाँसँग डरलाग्दा तर रोचक अनुभूति थिए , कथाकहानी जस्ता लाग्ने ती अनुभवहरू साँच्चिकै सङ्ग्रहणीय थिए । भविष्यमा थप अनुसन्धान , अन्वेषण गर्न मद्दत मिल्थ्यो कि जस्तो लाग्छ ।

केही सम्झना , केही तिर्सना ! उहाँको छोरो हुनुका नाताले ‘आनन्दलोकको यात्रा’ लेखेर थन्क्याएको धेरै साल भइसकेछ , अधुरै थियोे । अहिले सम्झना आयो ।

आफूले चाहेजति पढ्न नपाएर हुनसक्छ , उहाँले छोराछोरीलाई जसरी पनि पढाउने कसम खानु भएको थियोे । भन्नुहुन्थ्यो , “तिमीहरूले नै मति बिगार्यौ भने त के गर्नू , पढ्यौ भने नेपालमा पढाइ हुनेजति तिमारलाई जसरी पनि पढाउँछु ।”  म तीन चार कक्षा पढ्ने भएदेखि नै उहाँले स्कूलमा पढ्नु नपर्ने किताबहरू ल्याइदिन थाल्नु भयो । 

“ल यो किताब पढेर सुना !” भन्नुहुन्थ्यो ।

म सकेको भाका हालेर पढ्ने कोसिस गर्थें ।

सम्झन्छु , ती मधुमालतीको कथा , लालहीराको कथाका किताब थिए । अकबर र बीरबलका कथा , पौराणिक कथा , लोककथा र दन्त्यकथा आदिका किताब थिए ।

म छिटै ती किताबहरू फरररर पढ्न सक्ने भएँ , बुबा खुशी हुनुभयो ।

“यसले पक्कै केही गरेर देखाउँछ ।”

आफन्त र अरु आउनेजानेहरूले मेरो बारेमा सोध्दा पनि मेरै पढाइको बारेमा भन्नुहुन्थ्यो ।

काठमाडौं गएर फर्कदाँ मेरा लागि नयाँ नयाँ किताबहरू ल्याइदिरहनुहुन्थ्यो । मलाई पनि अरुभन्दा नयाँ किताबकै आशा हुन्थ्यो । पढ्ने लत लगाइदिनु भएको थियोे , एक किसिमको नशा भनौं न ।

जे होस् मैले निराश पारिनँ , उहाँको आशा अनुरुप नै मैले विद्यालयको पढाइ राम्रोसँग पूरा गरें । उच्चशिक्षा अध्ययनको लागि काठमाडौं गएपछि भने उहाँसँग कमै सँगै बस्न पाइयो ।

पढेर म गाउँकै स्कूलमा शिक्षक भएर गएँ । त्यसको केही वर्षपछि उहाँले गाउँ छोडेर शहर जानु भो । 

चाडपर्व र लामो विदामा सँगसँगै भएपनि लामो समय उहाँसँग बस्न मिलेन , रोजीरोटीको कारणले । तथापि उहाँ सरुवा मिला’र यतै आइज भनिरहनुहुन्थ्यो । विविध कारणले व्यवस्था मिलिरहेको थिएन ।

जिन्दगीलाई कहिलेकाहीँ फर्केर हेर्नू , अनि सम्झिन लायक केही काम गरिएको छ कि छैन ! विचार गर्नू । गर्व गर्न लायक काम गर्नुपर्छ , भनिरहनुहुन्थ्यो पिताजी ।

पढाइ लेखाइमा कमी नै भएपनि उहाँमा विज्ञान , शिक्षा , स्वास्थ्य , राजनीति , कुटनीति  र दर्शनादि विषयमा राम्रो ज्ञान थियोे । प्रयोगात्मक र हाते सीप बेजोड थियोे । लाग्छ , शिक्षाको महत्व उहाँलाई जति अरुलाई थाहा थिएन । स्वास्थ्य उपचारसम्बन्धी ज्ञानको कमी थिएन । राजनीति नगरे पनि रुचि अधिक थियोे । बामपंथीहरूको सत्ता आएपछि देशले मुहार फेर्छ भन्ने उहाँको अटुट विश्वाश थियोे ।

कहिलेकाहीँ भन्नुहुन्थ्यो , “आफन्तहरूले विस्तारै विस्तारै छोड्दै जाँदा रहेछन् । जीवनको अन्तिम अन्तिमतिर माया गर्नेहरू पनि पातलिँदै जाने रहेछन् । आमाले छोडिन् , बाले छोडे , छोराले छोडेर गयो । अब आफैंले छोडेर जाने बेला भइसक्यो । संसारको रीतै यस्तै र’छ । “

उहाँका यी बचनहरू सधैं सत्य झैँ लाग्छन् । लागिरहन्छन् । ख्यालख्यालैमा उहाँले पनि बाँकी रहेका हामी सबैलाई चटक्क छोडेर जानू’भो । गर्न , भन्न अझै निकै बाँकी छ जस्तो लाग्दै थियोे । रैनर’छ । 

अहिले सूचना तथा सञ्चारको युग छ । मोबाइल फोनको सुविधा नपुगेको ठाम छैन , मोबाइल नबोक्ने मान्छे छैनन् । सर्ट पाइन्ट र ज्याकेट , कोटका खल्तीमा लुकेका छन् ; हातहातमा सजिएका छन् अनि हातका बुढीअौंला र कान थप व्यस्त बनेका छन् । यसको सदुपयोग गर्दै मैले पनि मोबाइल फोन बोक्ने गरेको छु । दिन बिराएरजस्तो फोन आउँथ्यो बुबाको र सधैं शुरुमा सोध्नुहुन्थ्यो , “कुमार , सञ्चै छ ?”

अचेल पनि दिनमा पाँच सात पटकभन्दा बढी  फोनको घण्टी बज्छ र प्रत्येक पटक म कतै उहाँकै फोन हो कि भनेर हतारहतार मोबाइल हेर्छु । त्योबेला म उहाँ कहिल्यै फोन गर्न नमिल्ने ठाउँमा पुग्नुभएको कुरा बिर्सदोरहेछु । अनि बाँकी रहेका यिनै सम्झनाका तरेलीहरू झुत्ताझुत्ती खेल्छन् दिमागभरि , मनभरि ।



-कुमार काफ्ले

प्रस्तुति : महेन्द्र ओझा 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here